काठमाडौं, ४ कात्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको अवस्थामा यस वर्षको विजयादशमी मनाउनुपरेको भन्दै दुःखमा परेका परिवारलाई सहयोग गर्न र खुसी बाँड्न आग्रह गरेका छन्।
विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै थापाले चाडपर्वको खुसी आफ्नै घरपरिवारमा सीमित नराखी पीडामा रहेका नागरिकलाई पनि साथ दिनुपर्ने बताएका हुन्।
उनले दुःखमा परेका परिवारको पीडामा मलम लगाउन, एकअर्काको सहारा बन्न र आपसी सद्भाव बढाउन सबैलाई आग्रह गरेका छन्। विजयादशमीले आत्मबल, मानवीय संवेदना र सामाजिक एकताको भावना बलियो बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।














