काठमाडौं, ४ कात्तिक । बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बुधबार देशभर मान्यजनबाट दुर्गा भवानीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।
धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार सर्वसाधारणले टीका लगाउन विशेष साइत पर्खन आवश्यक छैन। यस वर्ष चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने उनले बताएका छन्।
नवरात्रमा पूजा गरिएकी नवदुर्गाको विसर्जनपछि मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने परम्परा छ। कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाइने भए पनि धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म यो क्रम जारी रहने गर्दछ।
यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले घटस्थापनाको ११औँ दिनमा विजयादशमी परेको हो।














