काठमाडौं, २ कार्तिक । अस्थायी रूपमा सञ्चालनमा आएको नेपाल–चीन तातोपानी नाकालाई नियमित बनाउन व्यवसायीहरूले माग गरेका छन्। नाका तीन दिनका लागि मात्रै सञ्चालन हुँदा चाडपर्व लक्षित सामग्री सीमापारि नै रोकिएको उनीहरूको भनाइ छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार चीनको न्यालम क्षेत्रमा दशैं, तिहारलगायत चाडपर्वका लागि ल्याइएका सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन्। तीमध्ये नाशवान् वस्तु र कृषिजन्य सामग्री बिग्रने जोखिम रहेको उनले बताए।
संघले नाका नियमित सञ्चालनका लागि चीन सरकार र नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षण गराइसकेको छ। तातोपानी भन्सार कार्यालयका अनुसार आइतबार तीन र सोमबार साँझसम्म सातवटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्।
चीनले कार्गो ट्रकलाई मात्रै अनुमति दिएकाले साना कन्टेनर आउन नसकेको भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरले बताए। भित्रिएका सामग्रीमा फलफूल, जुत्ता, तयारी पोशाक र कृषिजन्य वस्तु छन्।














