जनकपुर, १ कात्तिक । बडादसैँ तथा नवरात्रको आठौँ दिन आज देशभरका घरघरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
यस अवसरमा विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ।
वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल अष्टमीका दिन नवदुर्गामध्ये आठौँ स्वरूप महागौरीको पूजा गरिन्छ।
सेतो वस्त्र धारण गरेकी र सेतो वृषभमा सवार महागौरीलाई पवित्रता, शान्ति र शक्तिको प्रतीकका रूपमा लिने गरिन्छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएसँगै नौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।
नवरात्रका अवसरमा दुर्गा सप्तशती (चण्डी) लगायतका धार्मिक ग्रन्थ पाठ गरी देवीको आराधना गरिन्छ। देवीको पूजा गरेमा सुख, समृद्धि, शक्ति र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
नौ दिनसम्म पूजा गरिएका देवीको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्दै नेपालीहरूले १५ दिनसम्म बडादसैँ मनाउने गर्छन्।












