काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने सम्भावना रहेको छ।
यद्यपि भ्रमणको मिति औपचारिक रूपमा तय भइनसकेको परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भ्रमणलाई उपलब्धिमूलक बनाउन भारत सरकारसँग नियमित छलफल भइरहेको जानकारी दिए। भ्रमणमा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमा व्यवस्थापनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन, शिलान्यास र विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको बताइएको छ। प्रधानमन्त्री शाहले गत चैत १३ गते सरकारको नेतृत्व सम्हालेपछि यो पहिलो भारत भ्रमण हुनेछ।














