जनकपुर, ३१ असोज । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूबीच भएको छलफलमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव पनि सहभागी थिए।
छलफलमा सरोजकुमार यादवको नेतृत्वमा जसपा नेपालको सरकार गठन गर्ने गरी नयाँ गठबन्धन बनाउने विषयमा कुराकानी भएको एक नेताले जानकारी दिए।
यसअघि एमालेले शुक्रबार नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
१०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२ र नेपाली कम्युनिस्ट पार्टीका १५ सांसद छन्। सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।














