काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महा धिवेशनअन्तर्गत २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
सात दिनसम्म चलेको मतगणना सम्पन्न भएसँगै सभापति गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ।
त्यसमध्ये २३१ जना निर्वाचनबाट र ६६ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ। यसपटक पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउनुका साथै समावेशितालाई प्राथमिकता दिइएको छ।
उपसभापतिमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला चयन भएका छन्।
त्यस्तै, ११ जना सहमहामन्त्री विभिन्न समावेशी समूहबाट निर्वाचित भएका छन्। खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तथा दलिततर्फ प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन्।
अन्य पदमा महिला, मधेसी, मुस्लिम, थारू, पिछडिएको क्षेत्र, अल्पसंख्यक तथा अपांगता समूहका प्रतिनिधि चयन भएका छन्।
सभापति थापाले कुल ७ हजार ३९ मतमध्ये ६ हजार ५८४ मत प्राप्त गर्दै ९३.८८ प्रतिशत मत हासिल गरेका छन्। उपसभापतिमा चन्द्र भण्डारीले ३ हजार ७३५ र महामन्त्रीमा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गरेका छन्।
खुलातर्फ ४५ जना केन्द्रीय सदस्य चयन हुँदा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सबैभन्दा बढी मत पाएका छन्। संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना युवा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
साथै, पेसागत क्षेत्र, जनसम्पर्क समिति र विभिन्न समावेशी समूहबाट समेत केन्द्रीय सदस्य चयन गरिएको छ।














