काठमाडौँ, २९ असोज । मधेसकेन्द्रित नौ राजनीतिक दलको अग्रगामी मोर्चाले छठपछि सरकारविरुद्ध आन्दोलन गर्ने तयारी थालेको छ।
मोर्चाले आगामी मंसिर १० गते काठमाडौँको खुलामञ्चबाट आन्दोलन घोषणा गर्ने तयारी गरेको हो। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सोनलका अनुसार मोर्चामा आबद्ध दलहरू आन्दोलनको आन्तरिक तयारीमा जुटेका छन्।
दसैँ, तिहार र छठको अवधिमा संगठन सुदृढीकरण तथा जनतासँग छलफल गरी आन्दोलनको स्वरूप तय गरिने नेताहरूले बताएका छन्। जनमत पार्टीका महासचिव सञ्जय यादवले पनि छठपछि मोर्चागत कार्यक्रमसहित आन्दोलनमा जाने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार जनताबाट प्राप्त सुझावका आधारमा मोर्चाको बैठक बसेर आन्दोलनको कार्ययोजना बनाइनेछ। संविधानको रक्षा, उत्पीडित समुदायको पहिचान, समान अधिकार, समावेशिता र सामाजिक न्यायका मुद्दालाई आन्दोलनको मुख्य एजेन्डा बनाइने नेताहरूको भनाइ छ। आन्दोलनमा जेनजी पुस्तालाई समेत सहभागी गराउने लक्ष्य राखिएको छ।
अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा आबद्ध छन्।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र हुँकार मधेसले पनि छठपछि संघर्षका कार्यक्रम अघि बढाउने तयारी गरेका छन्।














