काठमाडौँ, २९ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान तथा जलवायु–उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।
थाइल्याण्डको बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा एडीबी अध्यक्ष मासातो कान्दासँग भएको भेटमा मन्त्री वाग्लेले आवश्यक स्रोत परिचालनमा सहयोग मागेका हुन्।
बाढीपछिको उद्धारका लागि आपत्कालीन अनुदान छिटो स्वीकृत गरेकोमा उनले एडीबीप्रति आभार व्यक्त गरे। जवाफमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफ्नो प्राथमिकतामा रहेको बताए।
भेटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र सहसचिव अमृत लम्साल पनि सहभागी थिए।














