काठमाडौं, २९ असोज । राष्ट्रिय मानव अधिकार आयोगले दसैँ बिदाका दिनमा पनि आफ्ना कार्यालय खुला राख्ने भएको छ।
मानव अधिकार उल्लङ्घन सम्बन्धी उजुरी लिन र आकस्मिक घटनाको अनुगमन गर्न आयोगले यस्तो व्यवस्था गरेको हो। आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदामा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्।
यस अवधिमा पीडितले मानव अधिकार उल्लङ्घनका घटनाबारे उजुरी दिन तथा आकस्मिक घटनाको जानकारी गराउन सक्नेछन्। आवश्यकताअनुसार आयोगले तोकेका मोबाइल नम्बरमा समेत सम्पर्क गर्न सकिनेछ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै बिदाका समयमा पनि मानव अधिकार संरक्षण र संवर्द्धनका कामलाई निरन्तरता दिन कार्यालय खुला राख्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।














