काठमाडौं, २६ असोज । बडादसैँ नजिकिएसँगै राजधानी काठमाडौंको नयाँबसपार्कबाट घर फर्किने यात्रुको चाप बढेको छ।
अध्ययन, रोजगारी तथा व्यवसायका लागि काठमाडौंमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्किन थालेका हुन्। नयाँबसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म मात्रै दुई लाख सात हजार २५१ यात्रु नयाँबसपार्कबाट बाहिरिएका छन्।
यात्रुको चाप बढेसँगै सडक अवरोधका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको व्यवसायीले बताएका छन्। असोज २३ गते धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन प्रभावित हुँदा काठमाडौंमा गाडी रोकिँदा समस्या भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बताए।
महासङ्घले यात्रुलाई अग्रिम टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ।














