जनकपुरधाम, २४ असोज । दसैं पर्वलाई लक्षित गर्दै जनकपुरधाममा आयोजना हुँदै आएको दशैं बजार शनिबार उद्घाटन गरिएको छ। घटस्थापनादेखि विजयादशमीसम्म सञ्चालन हुने बजारमा विभिन्न सामग्रीका १५० वटा स्टल राखिएका छन्।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरले बजार जनकपुरधामको पहिचान र गौरवसँग जोडिएको बताउँदै यसको व्यवस्थापन र धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिए।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले उपभोक्तालाई सहुलियत मूल्यमा सामान उपलब्ध गराउन व्यवसायीलाई आग्रह गर्दै चाडपर्व लक्षित सुरक्षा व्यवस्था मजबुत बनाइएको जानकारी दिए। बजार तथा जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
संघका पूर्वअध्यक्ष शिवशंकर साह हिराले पर्यटन र स्थानीय व्यापार प्रवर्द्धनमा स्थानीय तथा प्रदेश सरकारले पर्याप्त लगानी गर्नुपर्ने धारणा राखे। उनले सीमावर्ती क्षेत्रबाट आउने पर्यटकको आवागमन सहज बनाउन पनि आग्रह गरे।
कार्यक्रममा दशैं बजारको व्यवस्थापन, व्यापार प्रवर्द्धन र पर्यटन विकासबारे विभिन्न वक्ताले धारणा राखेका थिए।
यसैबीच, बाढी प्रभावित नागरिकका लागि राहत सङ्कलन अभियानमा सहयोग गर्ने नौ जनालाई जनकपुर उद्योग वाणिज्य संघले सम्मानपत्र प्रदान गरेको छ। सम्मानित हुनेमा सन्तोष गोयन्का, विश्वनाथ साह, सीतादेवी मण्डल, मनोजकुमार साह, सुशीललाल दास, प्रकाश साह, मीनादेवी, मुन्नीदेवी र श्रीराम साह रहेका छन्।














