काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्र परिवर्तन नहुने भन्दै उनले पार्टीको कार्यशैली बदल्नुपर्नेमा जोड दिए । सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने उल्लेख गर्दै थापाले किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको विश्वास जित्ने कांग्रेस बनाउने बताए ।
महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गरी सुझाव समेटेर पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाउने पनि उनले जानकारी दिए ।














