काठमाडौं, २३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।
सरकारले तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरे पनि राष्ट्रपतिबाट एउटा मात्रै जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिएका छन्। भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश भने अध्ययनकै क्रममा छन्।
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै ल्याइएको विपद्सम्बन्धी अध्यादेशमा बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने समयसीमा घटाउने व्यवस्था गरिएको छ। हाल १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्थालाई विपद्को अवस्थामा ४५ दिनमा झार्ने प्रावधान अध्यादेशमा समेटिएको छ।
भूमिसम्बन्धी प्रस्तावित अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समावेश छ।














