धनगढी, २२ असोज । सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी २४ असोज बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ। बैठक स्थगित भएसँगै लामो समयदेखि बजेटविहीन रहेको प्रदेश सरकारको बजेट ल्याउने प्रक्रिया थप प्रभावित भएको छ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार बिहीबार बिहानका लागि तय गरिएको बैठक स्थगित गरी २४ गतेका लागि सारिएको हो।
अघिल्लो सरकारले ल्याएको बजेट पुनर्लेखन गरी प्रदेश सभामा प्रस्तुत गर्ने तयारीमा रहेको सरकार सर्वोच्च अदालतमा परेको रिटपछि अन्योलमा परेको छ। अदालतले बजेटसम्बन्धी मुद्दामा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफलका लागि बोलाएको छ।
मुख्यमन्त्री खगराज भट्टले बजेट प्रस्तुत गर्ने विषयमा मन्त्रीहरूसँग छलफल गरे पनि ठोस निर्णय हुन सकेको छैन। यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्चको अन्तरिम आदेश नआएसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने जनाएको छ।














