काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान फेरि सरेको छ।
बिहान १० बजेका लागि तय गरिएको मतदान अब दिउँसो १ बजेदेखि हुने भएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्वाचनको तयारी पूरा नभएकाले मतदानको समय सारिएको हो।
यसअघि बिहान ७ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका रहे पनि वर्षा र प्राविधिक समस्याका कारण १० बजे सारिएको थियो। कांग्रेस महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
मतदानका लागि काठमाडौंका राष्ट्रिय सभागृह, प्रज्ञा भवन र खुलामञ्चमा सात मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमती, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी तथा खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।
भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले पनि खुलामञ्चबाट मतदान गर्नेछन्। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।














