काठमाडौं, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय देश झन् जटिल राजनीतिक अवस्थामा पुगेको बताएका छन्। उनले पछिल्लो ६ महिनामा राजनीतिक पात्र परिवर्तन भए पनि देशको अवस्थामा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरे।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा सम्बोधन गर्दै लिङदेनले देश ‘अँध्यारो सुरुङ’तर्फ अघि बढेको दाबी गरे। उनका अनुसार राजनीतिक अस्थिरता बढ्दै जाँदा देश सही दिशाबाट बाहिरिएको छ।
लिङदेनले केवल व्यक्ति परिवर्तन गरेर समस्या समाधान नहुने भन्दै राजा, राजनीतिक दल र नयाँ पुस्तालाई समेटेर राष्ट्रिय सहमतिको नयाँ समझदारी निर्माण गर्नुपर्नेमा जोड दिए। संविधानमा देखिएका कमजोरी सुधार्दै निषेधको राजनीति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।














