काठमाडौँ, १६ असोज । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म चलेको १४५ दिने अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका थिए।
सभामुख डोलप्रसाद अर्यालका अनुसार अधिवेशनमा १२ वटा विधेयक पारित भएका छन्, जसमध्ये ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। २० वटा विधेयक विभिन्न संसदीय समितिमा विचाराधीन छन्।
अधिवेशनमा आर्थिक तथा विनियोजन विधेयकसहित राजस्व, बजेट र नीतिगत विषयमा छलफल भएको थियो। साथै, भोटेकोशी र त्रिशूली बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा संसद्ले सरकारलाई निर्देशन दिएको छ।
जलवायु परिवर्तन र विपद् व्यवस्थापनबारे अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति समेत गठन गरिएको छ।














