काठमाडौं, १७ असोज । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए। दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
मृतकमध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। बाँकी पाँच मृतकको पहिचान खुल्न बाँकी छ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरू गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका रहेका छन्।














