काठमाडौँ, १५ असोज । बर्खे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको अन्तिम बैठक शुक्रबार बस्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्यको घोषणा गरेका छन्।
यसअघि बिहीबारको बैठकले तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा भुक्तानी तथा फर्छ्योट सम्बन्धी संशोधन विधेयक समितिमा पठाउन प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
बैठकमा कानूनमन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्। राज्यव्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सुविधासम्बन्धी संशोधन विधेयकको समितिगत प्रतिवेदन पनि प्रस्तुत गरे।














