काठमाडौं, १६ असोज । श्रम संस्कृति पार्टीले सरकारको कार्यशैलीप्रति संसद्मा असन्तुष्टि जनाएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसद ध्रुव राईले प्रतिपक्षी दलले उठाएका जनसरोकारका विषयलाई सरकारले बेवास्ता गरेको आरोप लगाए।
राईले संसद्को अधिवेशन प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै सरकार प्रमुखले प्रतिपक्षीको आवाज र प्रश्नलाई गम्भीरतापूर्वक नलिएको बताए। जनताका समस्या संसद्मा उठाउन नसकिए पनि आफूहरू जनताको घरदैलोमा पुगेर आवाज उठाइरहने उनको भनाइ थियो।
सरकारले दम्भ देखाउँदै प्रतिपक्षलाई पेलेर अघि बढ्न खोजे त्यसको राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै राईले जनपक्षीय मुद्दामा सांसदहरू एकजुट हुन आग्रह गरे।














