काठमाडौँ, १५ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री शाहले हालैको बाढी–पहिरोपछि अस्ट्रेलियाले गरेको सहयोगप्रति धन्यवाद दिँदै राहत सामग्री, विशेषज्ञ टोली तथा ११ मिलियन अस्ट्रेलियन डलर बराबरको सहयोगका लागि आभार व्यक्त गरे। विपद्मा बेपत्ता अस्ट्रेलियन नागरिकको खोज तथा उद्धारलाई सरकारले प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए।
राजदूत अर्न्स्टले विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले संयुक्त राष्ट्रसंघमा नेपालको प्रभावकारी भूमिकाको प्रशंसासमेत गरे।














