काठमाडौं, ११ असोज। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ।
आज प्रतिपदा तिथिको श्राद्ध गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख छ। धर्मशास्त्रअनुसार पितृ पक्षमा दिवंगत आफन्तको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरिन्छ। सोह्रवटा तिथिमा गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो।
शास्त्रीय परम्पराअनुसार श्राद्ध अपराह्न समयमा गर्नुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्। कारणवश आफ्नो पिताको तिथिमा श्राद्ध गर्न नसकिए वैकल्पिक तिथिमा समेत गर्न सकिने व्यवस्था रहेको जनाइएको छ।
पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुने गर्दछ। यस वर्ष अधिकमासका कारण सोह्र श्राद्ध र दसैँ केही ढिला परेको बताइएको छ।














