सप्तरी, ११ असोज । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ।
बाढीबाट हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर प्रभावित भएका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का ४८३ घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ।
यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा थप १७ घर डुबानमा परेका छन्। शुक्रबार रातिदेखि सप्तकोशीमा पानीको बहाव बढेसँगै बस्तीमा बाढी पसेको नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए।
उनका अनुसार बाढी प्रभावितका लागि तत्काल बिहान र बेलुका गरी दुई छाक खानाको व्यवस्था गरिएको छ। नदीको पानीको सतह केही घटेपछि प्रभावित परिवारको विवरण संकलन गरी थप राहत सामग्री वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।
लगातारको वर्षा र नदीको जलस्तरमा उतारचढाव भइरहेकाले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।














