काठमाडौं, २ असोज । निर्वाचन आयोगले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेको छ।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले तयारी अघि बढाएको हो।
आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तह निर्वाचन ऐनमा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्ने व्यवस्था रहेकाले सोहीअनुसार तयारी भइरहेको छ।
आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था गर्ने विषयमा समेत अध्ययन गरिरहेको जनाएको छ।
आगामी दिनमा निर्वाचनलाई डिजिटल प्रविधितर्फ लैजाने र विदेशमा रहेका नेपालीलाई समेत विद्युतीय मतदानमार्फत सहभागी गराउने सम्भावनाबारे आयोगले तयारी गरिरहेको छ।














