काठमाडौं, १६ भदौ । गृहमन्त्री सुदन गुरुङले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र उच्च प्राथमिकताका साथ परिचालन गरिएको बताएका छन्।
मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले थ्री ए र विभिन्न सुरुङ क्षेत्रमा उद्धार अत्यन्त जोखिमपूर्ण रहेको जानकारी दिए। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण हवाई उद्धारमा समस्या भए पनि रातदिन प्राविधिक तथा सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ।
सुरुङभित्र फसेकाहरूलाई अक्सिजन र खाद्यान्न पुर्याउन माथिल्लो भागबाट ड्रिल गर्ने वैकल्पिक योजना अघि बढाइएको उनले बताए। भारतीय र चिनियाँ उद्धार टोली नेपाली सेनासँग समन्वय गरी प्राविधिक तथा उद्धार कार्यमा संलग्न रहेको पनि उनले स्पष्ट पारे।
गुरुङले विदेशी उद्धार टोलीलाई सरकारले रोकेको भन्ने चर्चा असत्य भएको बताए। उद्धारका क्रममा चार सुरक्षाकर्मी बेपत्ता भएको जानकारी दिँदै उनले सुरक्षाकर्मीले जोखिम मोलेर नागरिकको उद्धार गरिरहेको उल्लेख गरे।
राहत वितरणमा कुनै रोकतोक नरहेको भन्दै उनले संघसंस्था तथा व्यक्तिले पीडितसम्म प्रत्यक्ष राहत पुर्याउन सक्ने बताए। सरकारले घाइतेको उपचार र सम्भावित जीवितको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले नागरिकलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरे।














