काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका १६२ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीपछि १९२ जना सम्पर्कविहीन भएकोमा ३० जना भने सम्पर्कमा आएका छन्।
सम्पर्कविहीनमध्ये सप्तरीका ४८, पर्साका ३८, बाराका २३, रौतहटका १३, सर्लाहीका १६, महोत्तरीका १०, धनुषाका ७ र सिरहाका ८ जना छन्।
उनीहरूका परिवार तथा आफन्तले खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग निरन्तर आग्रह गरिरहेका छन्। धनुषाको कमला नगरपालिकाका ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंह र सप्तरीका इन्जिनियर अजयकुमार यादव पनि बाढीपछि सम्पर्कविहीन छन्।
सिंहकी एक महिने सुत्केरी श्रीमती पूजा सिंहले सामाजिक सञ्जालमार्फत उद्धार टोलीलाई श्रीमान्सम्म छिटो पुग्न आग्रह गरेकी छन्। यादवको खोजीका लागि उनका दाइ रसुवा पुगेका छन्।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजना, सडक निर्माण, होटल तथा अन्य व्यवसायमा कार्यरत नागरिक छन्। रसुवाको टिमुरे, धुन्चे, स्याफ्रुबेँसी तथा नुवाकोटको त्रिशूली, बेत्रावतीलगायत क्षेत्रमा काम गरिरहेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा आउन सकेका छैनन्।
सुरक्षाकर्मीतर्फ पनि केही प्रहरी तथा नेपाली सेनाका कर्मचारी सम्पर्कविहीन छन्। दिन बित्दै जाँदा सम्पर्कविहीनका परिवारमा आफन्त सकुशल फर्कने आशासँगै चिन्ता र निराशा बढ्दै गएको छ।













