काठमाडौं, १४ भदौ । त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ।
नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञको टोलीले तीन दिनको निरन्तर प्रयासपछि मानिस आवतजावत गर्न मिल्ने सुरुङ भेट्टाएको हो। अब उक्त सुरुङबाट उद्धार विज्ञलाई भित्र पठाएर फसेकाहरूको अवस्था बुझ्ने तयारी गरिएको छ।
प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार सुरुङभित्र हावा पुर्याउन यसअघि पाँचवटा ड्रिल गरिसकिएको छ। अक्सिजन पठाउने व्यवस्था भएकाले कर्मचारीहरू सकुशल रहेको आशा गरिएको उनले बताए।
आयोजनाको भूमिगत विद्युत् गृहमा काम गरिरहेका करिब ४०–४२ जना प्राविधिक सुरुङभित्र फसेको अनुमान गरिएको छ।














