काठमाडौं, १४ भदौ । धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा त्रिशूली नदीको बहाव बढेपछि आएको बाढीले चार घरमा क्षति पुर्याएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। घर पूर्णरूपमा बगेको वा आंशिक क्षति भएको भन्ने विवरण प्रहरीको स्थलगत निरीक्षणपछि मात्र स्पष्ट हुनेछ।
गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले पनि चार घरमा क्षति पुगेको पुष्टि गर्दै थप विवरण संकलन भइरहेको बताएका छन्। त्रिशूलीको जलसतह बढिरहेको भन्दै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।














