काठमाडौं, १४ भदौ । लगातारको भारी वर्षाका कारण देशका केही नदीमा जलसतह खतराको तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा आसपासका जलाधारमा भएको भारी वर्षाले त्रिशूलीको बहाव बढाएको हो।
यस्तै, सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पनि जलसतह सतर्कता तह पार गरेको छ। नारायणी र सहायक नदीहरूमा समेत बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा धेरै भारी वर्षा भएकाले त्यसतर्फका नदीमा समेत जलसतह बढेको महाशाखाले जनाएको छ।














