काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढे पनि हाल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको खबरपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो।
तर, महाशाखाले बिहान ५:४५ बजे जारी गरेको अद्यावधिक सूचनामा भोटेकोशीको बहाव बढे पनि अवस्था नियन्त्रणबाहिर नरहेको स्पष्ट पारेको छ।
नुवाकोटमा पनि नदीको बहाव केही बढेको भए पनि ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जनाएको छ। रसुवा, नुवाकोट र धादिङका नदी आसपासका बासिन्दालाई भने पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।
यसअघि भदौ १० गते ल्हेन्दे खोलाको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। सोही घटनाको त्रास कायमै रहेकाले नदीको बहाव बढ्दा स्थानीयमा थप चिन्ता देखिएको हो।














