काठमाडौं, १३ भदौ । रसुवा बाढीपछि उद्धारका लागि आएको ६ सदस्यीय चिनियाँ सुरुङ विज्ञ टोली २१६ मेगावाटको नेपाल वाटर एन्ड इनर्जी कम्पनी अन्तर्गतको अपर त्रिशूली–१ आयोजनाको सम्पर्कमा रहेको खुलेको छ।
यसअघि प्रधानमन्त्री कार्यालयले टोलीलाई माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा फसेकाको उद्धारमा खटाइएको जनाएको थियो। तर, उक्त आयोजनाको सुरुङमा कोही नफसेको र चिनियाँ टोली पनि त्यहाँ नपुगेको व्यवस्थापनले स्पष्ट पारेको छ।
अपर त्रिशूली–१ का प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार चिनियाँ विज्ञ टोली निर्माण कम्पनी ‘चाइना रेलवे’को समन्वयमा आएको हो। आयोजनाको सुरुङमा अझै करिब ४ सय मानिस फसेको अनुमान गरिएको छ। टोली भोलिदेखि फिल्डमा खटिने तयारीमा छ।













