रसुवा, १२ भदौ। नेपाल–चीन सीमावर्ती तिब्बत क्षेत्रमा पहिरोले थुनिएको कृत्रिम ताल पुनः फुटेपछि आएको बाढी स्याफ्रुबेँसीसम्म पुगेको छ।
ठूलो बहाव नेपालतर्फ आउन थालेपछि त्रिशूली नदी हुँदै मुग्लिनसम्म असर पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेपछि पानीको ठूलो बहाव नेपालतर्फ आएको हो। यसअघि प्रहरीले भोटेकोशी र त्रिशूली नदी किनार तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।
भदौ १० गतेको भीषण बाढीपछि तिब्बतमा ल्हेन्दे खोला थुनिएर बनेको ताल पुनः फुटेपछि रसुवासहित नदी तटीय क्षेत्रमा दोस्रो चरणको बाढीको जोखिम बढेको छ।












