काठमाडौं, १२ भदौ। रसुवागढीबाट करिब १८ किलोमिटर माथि चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको जानकारी आएको छ।
चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पुष्टि गरेका छन्।
भोटेकोशीमा केही दिनअघि आएको विनाशकारी बाढीबाट ठूलो क्षति भइरहेका बेला पुनः ताल फुटेको सूचना आएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले उद्धारकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क भई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।














