काठमाडौं, ११ भदौ। भोटेकोशीको बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली–३ ए जलविद्युत् आयोजनाको अवस्था निरीक्षण तथा उद्धार र विद्युत् पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली फिल्डमा पुगेको छ।
कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले आयोजनाको क्षति, उद्धारको अवस्था र विद्युत् संरचना पुनर्स्थापनाबारे स्थलगत मूल्याङ्कन गरिरहेको छ। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा छिटो सञ्चालन गर्न आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका छन्।
बाढी प्रभावित नुवाकोटका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्यामा वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ। अन्य क्षेत्रमा ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरेर विद्युत् आपूर्ति सुचारु गर्ने तयारी भइरहेको छ।
यसैबीच, आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगेको छ।














