काठमाडौं, ११ भदौ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउने काम तीव्र पारिएको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार बिहान ६:३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु भएको हो। हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनालाई सुरक्षित उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ९५ नेपाली र २१ भारतीय नागरिक छन्। टनेलबाट पनि ७ नेपालीलाई सकुशल निकालिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
प्रभावित क्षेत्रमा जेनेरेटर, मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा भग्नावशेष हटाउने उपकरण पठाइँदैछ। मोबाइल नेटवर्क र चार्जिङको अस्थायी व्यवस्था पनि छिट्टै गरिने उनले बताएका छन्।
नुवाकोटमा अस्थायी शिविर सञ्चालनमा ल्याएर खाना र पानीको व्यवस्था गरिएको छ। ड्रोनमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे विवरण संकलन भइरहेको र हवाई उद्धारमा सिकिस्त, वृद्ध, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले बताएका छन्।














