काठमाडौं, १० भदौ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी हालसम्म सात जनाको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरीका अनुसार नुवाकोट र धादिङका नदी किनारबाट सात जनाको शव फेला परेको हो।
प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटमा चार जना र धादिङमा तीन जनाको शव भेटिएको छ। नुवाकोटको विदुर क्षेत्रमा एक महिला र तीन पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीबाट जोगिन पहाडतिर पुगेकाहरूलाई धुन्चे ल्याउने तथा घाइतेको उद्धार गर्ने काम भइरहेको छ। घाइतेलाई हेलिकप्टरमार्फत त्रिशूली अस्पतालसम्म ल्याएर आवश्यकताअनुसार एम्बुलेन्सबाट काठमाडौं पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बाढीमा हराइरहेकाहरूको खोजी तथा फेला परेका शव संकलन गर्ने कार्यसमेत जारी राखेको छ।














