काठमाडौं, ८ भदौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणका लागि राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित हेमबहादुर मल्ल सम्मान समारोहलाई सम्बोधन गर्दै उनले साझा प्रयासबाट मात्रै न्यायपूर्ण, सक्षम र समृद्ध नेपाल निर्माण गर्न सकिने बताए।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नागरिकको अपेक्षाअनुसार विकास अघि बढाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे। निराशा र आवेगभन्दा आशा, भरोसा र विश्वासका साथ आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
उनका अनुसार छिटोछरितो सार्वजनिक सेवा, पारदर्शी निर्णय प्रक्रिया, संस्थागत जवाफदेहिता, न्यायपूर्ण व्यवहार र विधिको शासन राज्यको सफलताका मुख्य आधार हुन्।














