काठमाडौं, ८ भदौ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले घटनाको अनुसन्धान निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउनुपर्ने तथा पीडित परिवारलाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने बताइन् ।
उनले मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिले त्यस्तो अपराध गर्ने साहस कहाँबाट प्राप्त गयो भन्ने विषयमा राज्यले गम्भीर अध्ययन गर्नुपर्ने धारणा राखिन् ।
यस्ता घटनामा प्रभावकारी कारबाही हुन नसके अपराधीको मनोबल बढ्ने उनको भनाइ थियो । अर्यालले निर्मला पन्तलगायतका विगतका घटनालाई समेत स्मरण गर्दै यस्ता जघन्य अपराध दोहोरिनुको कारण पहिचान गर्न गम्भीर अध्ययन र अनुसन्धान गरी प्रतिवेदन तयार पार्न सरकारलाई आग्रह गरिन् ।
तयार पारिएको प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्ने उनको जोड थियो । उनले सरकारका पछिल्ला गतिविधिप्रति समेत असन्तुष्टि जनाउँदै आफूहरूले उठाएका विषयलाई प्रतिपक्षीको मात्र आवाजका रूपमा नहेर्न आग्रह गरिन् ।














