काठमाडौं, २ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको मर्मविपरीत अभिव्यक्ति र निर्णय नगर्न सचेत गराएका छन्।
मंगलबार बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै उनले देउवाको पछिल्लो ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
प्रचण्डले संविधानविरोधी गतिविधिले देशलाई दुर्घटनातर्फ लैजान सक्ने चेतावनी दिँदै आफ्नै सहभागितामा बनेको संविधानको मर्मअनुसार अघि बढ्न आग्रह गरे।
उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार संविधान, लोकतन्त्र र गणतन्त्रविपरीत अघि बढेको आरोप लगाउँदै सरकारका गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशनसमेत दिए। भ्रष्टाचार बढेको र सञ्चारमाध्यमको आवाज दबाउने प्रयास भइरहेको उनको आरोप थियो।
एमालेसँग भएको तीनबुँदे सहमतिले वामपन्थी सहकार्यको बाटो खोले पनि केपी शर्मा ओलीको प्रवृत्ति परिवर्तन नभएसम्म तत्काल पार्टी एकता सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे।
बैठकमा माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक–गणतन्त्र पक्षधर तथा वामपन्थी शक्तिबीच सहकार्य र एकतालाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए।












