काठमाडौं, २ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- की सांसद तामाङ प्रतिनिधिसभाको बैठकबाट बाहिरिएकी छन् ।
कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा सांसद तामाङले सरकारसँग जवाफ मागेकी थिइन् ।
यस विषयमा सभामुखले अघिल्लो दिन सरकारलाई रुलिङ गरेपछि परराष्ट्रमन्त्री खनालले आज सदनमा जवाफ दिएका थिए । तर, मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसद तामाङले मन्त्रीले जवाफ दिइरहेका बेला उठेर थप प्रश्न गर्न खोजेकी थिइन्।
सभामुखले उनलाई बोल्ने समय नदिइएको भन्दै बस्न निर्देशन दिए । सभामुखको निर्देशनपछि पनि तामाङले आफूले बोल्न पाउनुपर्ने अडान दोहो¥याएपछि सभामुखले उनलाई सभाको मर्यादा कायम राख्न निर्देशन दिएका थिए ।
त्यसपछि तामाङले झोला बोकेर असन्तुष्ट मुद्रामा बैठक कक्ष छाडेकी हुन् । शव नेपाल ल्याउने विषयमा सरकारले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले सदनमै थप स्पष्टीकरण मागेकी थिइन् ।












