काठमाडौं, २ भदौ । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुने भएको छ ।
उनीहरूबीच आज दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ । चारदिने नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौं आएका हुन् ।
नेपाल भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।
यसअघि सेठले प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि दुईपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेपछि भारतबाट नेपाल भ्रमणमा आएका सेठ अहिलेसम्मकै उच्च तहका अधिकारी हुन् ।
भारतबाट भएको उनको नेपाल भ्रमणलाई विभिन्न कोणबाट अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।














