काठमाडौँ, १ भदौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी समर्थित राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपालले सर्वसाधारणको विद्युत् महसुलमा भ्याट लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ ।
सर्वसाधारणलाई अतिरिक्त भार पर्ने गरी भ्याट लगाइएको तर उद्योगी–व्यवसायीबाट असुल गर्न बाँकी डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नउठाइएको भन्दै अभियान थालिएको संगठनका अध्यक्ष राजकुमार मैनालीले बताए ।
भदौ १ देखि २५ गतेसम्म सञ्चालन हुने अभियानको उद्घाटन माइतीघर मण्डलामा गरिएको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा पनि हस्ताक्षर संकलन गरी विभिन्न चरणमा सरकारलाई ज्ञापनपत्र बुझाइनेछ।
भदौ २५ गते ऊर्जा मन्त्रालयमार्फत संकलित हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएर अभियान सम्पन्न गरिने जनाइएको छ ।














