रूपन्देही, ३१ साउन । रोल्पामा लगातारको वर्षापछि आएको पहिरोमा परी पाँच दिनमै १८ जनाको ज्यान गएको छ ।
गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती बगाउँदा १३ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन्। दुई जनाको बुटवलमा उपचार भइरहेको छ ।
त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको थियो । लगातारको वर्षासँगै जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ ।














