रौतहट, ३१ साउन । रौतहट प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये चोरी तथा डाँका मुद्दाका एक जनालाई ४ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अन्यलाई चेक अनादर, कुटपिट तथा गाली बेइज्जती मुद्दामा जरिवाना गरिएको थियो ।
पक्राउ परेका सबैलाई रौतहट जिल्ला अदालत गौरमा बुझाइएको प्रहरीले जनाएको छ । यसैगरी, प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएका करिब १ लाख ४९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
बरामद सामानमा मिल्क पाउडर, कपडा, तोरीको तेल, प्लास्टिक, मोटरसाइकलका स्पेयर पाट्र्स, हार्डवेयर, कोल्ड ड्रिंक, सुर्ती र लसुनलगायत छन् ।
सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।












