रोल्पा, २८ साउन । अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
पहिरोमा परी ५ जना अझै बेपत्ता छन् । पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । लगातार लेदोसहितको पहिरो खसिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा घर तथा गोठ पुरिँदा पशुचौपायासमेत बेपत्ता भएका छन्। मृतकमध्ये केहीको शव प्यूठानको माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।












