जनकपुर, २८ साउन । पूर्वएसएसपी गोविन्द साहले आफ्नो पद र पहुँचको दुरुपयोग गरी निर्दोषलाई मिटरब्याज तथा ठगी मुद्दामा फसाएको आरोप लगाइएको छ ।
मिटरब्याज तथा ठगी आरोपमा साउन २ गते पक्राउ परेका जनकपुरधाम–१६ कपिलेश्वरका गोपाल साह, उनकी श्रीमती रेखा साह र छोरा हरेराम साहका आफन्तले बिहीबार जिल्ला अदालत धनुषाअगाडि प्रदर्शन गरेका छन् ।
रेखाका छोरा जयराम साहले पूर्वएसएसपी साहले पाँच वर्षअघि बिक्री गरेको जग्गा सडक विस्तारपछि मूल्य बढेपछि पुनः फिर्ता लिन खोज्दै आफ्नी आमासहित परिवारका सदस्यलाई मुद्दामा फसाएको आरोप लगाए ।
उनका अनुसार जग्गा खरिद प्रक्रिया पूरा गरी परिवारसँग आवश्यक कागजातसमेत सुरक्षित छन् । जयरामले २५ दिनदेखि परिवारका सदस्यलाई हिरासतमा राखिएको भन्दै कानुनी प्रक्रिया पूरा गर्दै बाहिर रहेर मुद्दा लड्ने वातावरण बनाउन माग गरे ।
यता पूर्वएसएसपी साहले भने आफूले निर्वाचन लड्न भन्दै रेखा साहसँग जग्गा राखेर ९९ लाख रुपैयाँ ऋण लिएको र रकम चुक्ता गर्न खोज्दा जग्गा अर्कैको नाममा पास भएको भन्दै मिटरब्याज तथा ठगीको उजुरी दिएको बताउँदै आएका छन् ।












