काठमाडौँ, २८ साउन । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन् ।
प्रचण्डले समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यले धरपकड गर्नु लोकतन्त्रको उपहास भएको बताएका छन् । श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध एक युवतीले दिएको जाहेरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठमाथि रास्वपाका सांसद अमरकान्त चौधरी र एक युवतीबीचको तस्बिर सार्वजनिक गरेको आरोप छ ।
सम्बन्धित युवतीले भने तस्बिर गलत तरिकाले जोडेर भ्रम फैलाइएको र त्यसमा सत्यता नभएको बताएकी छन् ।












