नयाँ दिल्ली । भारतमा झन्डै एक महिनादेखि आन्दोलनरत ककरोच जनता पार्टी -सीजेपी- सरकारसँग वार्ताका लागि तयार भएको छ ।
पार्टीका मुख्य प्रवक्ता सौरभ दासले सरकारले तटस्थ स्थानमा वार्ताको प्रस्ताव स्वीकार गरेपछि संवादमा बस्न सहमत भएको बताए । यद्यपि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहितका आफ्ना सबै माग यथावत् रहेको सीजेपीले जनाएको छ ।
एनईईटी–यूजी प्रश्नपत्र चुहावट प्रकरणपछि दिल्लीको जन्तर-मन्तरमा आन्दोलन भइरहेको थियो । आन्दोलनलाई समर्थन गर्दै आमरण अनशनमा बसेका अभियन्ता सोनम वाङचुकले २६ दिनपछि बिहीबार अनशन तोडेका छन् ।
उनले देशमा हिंसाको सम्भावना टार्न र विभिन्न पक्षसँगको छलफलपछि यो निर्णय लिएको बताएका छन् ।














