काठमाडौं, २८ असार । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेपछि अमेरिका–इरानबीचको तनाव थप चर्किएको छ ।
अमेरिका र इरानले एकअर्काविरुद्ध सैन्य कारबाही र कडा चेतावनी जारी गरेका छन् । अमेरिकाले इरानले साइप्रसको झण्डा बोकेको व्यापारिक जहाजमा आक्रमण गरेको आरोप लगाउँदै नयाँ हवाई आक्रमण गरेको जनाएको छ ।
इरानले भने चेतावनी अटेर गरेपछि जहाजलाई लक्षित गरी कारबाही गरिएको दाबी गर्दै अमेरिकी हस्तक्षेप भए थप कडा जवाफ दिने चेतावनी दिएको छ ।
यसबीच इरानका नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले अमेरिका र इजरायलसँग बदला लिने चेतावनी दिएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वा अमेरिकामाथि आक्रमण भए इरानलाई पूर्ण विनाशकारी जवाफ दिइने बताएका छन् ।
उता, ट्रम्पमाथि आक्रमणको योजना रहेको दाबी अमेरिकी सञ्चारमाध्यमले गरे पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।














